बिर्तामोड-  ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ। न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो। 

अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए  हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनः हनुमान कम्प्लेक्स अगाडी आएर कोणसभामा परिणत भएको थियो। र्यालीमा करिब १५० जना सहभागी थिए। 

कोणसभालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग नभई मस्तिष्क विकासको एउटा अवस्था भएको भन्दै सानै उमेरमा यसको पहिचान गर्न सके थेरापीको माध्यमबाट उनीहरुको जीवनयापनमा सहजता ल्याउन सकिने बताए। बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै बिर्तामोड नगरपालिकाले बिर्ताबजारस्थित महेन्द्र रत्न माविमा अटिजम स्रोत कक्षा सरोकारवाला निकायसँग समन्वय गरि सञ्चालन गरिरहेको उनले बताए। उनले उक्त स्रोत कक्षाको स्तरवृद्धिका लागि पालिकाले थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । र्यालीमा सहभागीहरुलाई अटिजमको बारेमा अधिकतम प्रचार गर्न उनले आग्रह गरे।

एसएनजेडीका कार्यक्रम संयोजक चुडालले धेरै अभिभावकहरुले अटिजमको बारेमा थाहा नपाउँदा बालबालिकाको  अवस्था जटिल बनिरहेको बताए। सानै उमेरमा अटिजमको बारेमा जानकारी पाएमा विभिन्न थेरापीको माध्यमबाट उनीहरुको जीवनयापनमा सहजता ल्याउन सकिने भन्दै यसको व्यापक प्रचारप्रसारको आवश्यकता रहेको उनले बताए। कार्यक्रममा सहभागी इकम कलेज, मनकामना कलेज, आदर्श स्कुल अफ होटल म्यानेजेमेन्टका विद्यार्थी तथा विद्यालयका प्रतिनिधीलगायत सम्पूर्ण सहभागीहरुलाई उनले धन्यवाद दिए। कार्यक्रममा सहभागीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए । अभिभावकहरुले अटिजमको थिम तथा नारा उल्लेखित टीसर्ट लगाएका थिए। 

साभार : झापामा मनाइयो विश्व अटिजम सचेतना दिवस – स्वास्थ्यखबर :: Swasthya Khabarpatrika